'तपाईंको हातको काँचो माटोलाई कस्तो आकार दिने?'
- सरला पोखरेल
हरेक आमाबुवालाई लाग्छ - छोराछोरीलाई असल संस्कार दिउँ। अभिभावकले सन्तानले पाउने संस्कार बारे सोच्नु स्वभाविक पनि हो। तर, कतिपय अवस्थामा आमाबुवा यस मामलामा चुकिरहेका हुन्छन्, अन्जानमै।
लकडाउनका कारण विद्यालयहरू बन्द रहे। आम बालबालिकाले सधैँको भन्दा धेरै समय पाए, आफ्नो अभिभावकसँग बिताउन। यो समय अभिभावक र बालबच्चा दुवैका लागि अवसर बन्यो, एकअर्कालाई बुझ्ने, दूरी घटाउने। तर, उनीहरूलाई सुनेर, उनीहरूसँग बोलेर समय बिताउनु। उनीहरूको नसुन्ने, नटेर्ने व्यवहारलाई सुधार्नुभन्दा उनीहरूको हातमा रिमोट वा मोबाइल थमाउनु सजिलो उपाय बन्यो धेरै अभिभावकका लागि।
समग्रमा प्राविधिक वस्तुहरू छोराछोरीको जिज्ञासा र प्रश्नहरूबाट छुट्कारा पाउने माध्यम बन्यो। जसका कारण अभिभावक र सन्तानबीच फेरि अर्को खाडल बन्यो जसको प्रत्यक्ष असर पर्छ बालबालिकाको मनोविज्ञान र आमाबुवाले चाहेको 'संस्कार'मा पनि।
सन्तान रुनु वा केही कुराको माग गर्नु वा प्रश्न गर्नुलाई 'दुःख'को संज्ञा दिएर पन्छ्याउन खोज्यौं। इन्टरनेटको संसारमा भुलाइदियौं। त्यही इन्दर्नेटको दूनियाँमा रमाउने बानी बसालिदियौं। पछि गएर उनीहरूको त्यही बानीलाई स्वीकार्न नसक्नु अर्को ठूलो समस्या बन्ने निश्चित छ। भोलि छोराछोरीको बानी बिग्रियोभन्दै स्कूलमा गएर शिक्षक शिक्षिकालाई गाली गर्न पनि पछि पर्दैनौं हामी। भन्नेछौं – मेरो बच्चा लकडाउनभरी घर बसेर नपढ्ने भयो, एकोहोरो भयो, कसैसँग बोल्दैन उसलाई मोबाइल र टिभी भए पुग्छ आदि इत्यादि।
कतिपय अभिभावकलाई लाग्छ, हामीले हजारौं पटक भनेको नमान्ने बच्चा मिस/सरले एक पटक सम्झाउँदा मान्छ । त्यो हजारौं पटक नमान्नुको कारण के? सोच्दैनौं। आफूले घरमा सिर्जना गरेको वातावरण बारे समीक्षा गर्दैनौं। आफूले भनेको नसुन्ने सन्तानले भनेको कुरा पनि हामीले सुनेनौं कि? सुने पनि नसुनेजस्तो गर्यौं कि? वा उसको जिज्ञासाको उचित सम्बोधन गरेनौं कि? उस्का प्रश्नहरूलाई उमेरको पावन्दी देखाइ टारेका हुनसक्छौं। हाम्रो त्यही व्यवहारका कारण उसले नसुनेजस्तो गर्न सिकेको हुनसक्छ। भनेको नमान्न सिकेको हुनसक्छ।
हामी आफ्नो सन्तानको लालनपालनमा कहाँनेर चुकिरहेका छौं कहिल्यै पनि ख्याल गर्दैनौ। ख्याल त त्यतीखेर मात्र गर्दछौं जब सन्तानलाई सम्झाउन, बुझाउन निकै गाह्रो हुने स्थिति सिर्जना भइसक्छ।
मीठो खान दिँदैमा, राम्रो लगाउन दिँदैमा, जे भन्यो त्यो पुर्याउँदैमा हामी असल अभिभावक भयौं भन्ने भ्रममा छौं हामीमध्य धेरै। भौतिक आवश्यकता मात्र पूरा गरिदिएर बालबच्चालाई महत्वकांक्षी बनाइरहेका छौं। भावनात्मक पूर्ती र आवश्यक समय दिन सकिरहेका छैनौं।
के हामीले आफ्नो बाल बच्चासँग यस्ता भूमीका निभाउने प्रयास गरेका छौं त?
अहिले हामी यति धेरै व्यस्त भएका छौं कि हामीसँग न बच्चाका कुरा सुनिदिने फूर्सद छ न त आफ्नो कुरा बच्चालाई सुनाउने। हामीलाई लाग्छ, बच्चाले हाम्रो के कुरा बुझ्छ र सुनाउनु?
उसले बुझोस् नबुझोस्, कमसेकम तपाईंको कुरा सुन्ने अनि आफ्नो कुरा तपाईंका सामु राख्ने बानी त बस्छ। सहज वातावरणको विकास त हुन्छ जसले गर्दा बच्चा पारिवारिक बन्दै जान्छ। यदि कुरा सुन्ने निहुँमा उसले गरेको कुनै गल्तीलाई औँल्याउदै गाली गर्ने वा नकारात्मक अर्थ लगाउन थाल्नु भयो भने पनि उसले तपाईंसामु आफ्नो कुरा राख्न हिच्किच्याउँछ। त्यसैले साथीले झैँ उसका सबै कुरा सुन्ने र कमी कमजोरीलाई सुधार्न सघाउने प्रयास गरौं।
आफ्नो काम आफैले गर्ने बानीको विकास
कतिपय परिवारमा अझै पनि छोरीलाई सानैदेखि आफ्नो काम आफै गर्न लगाउने र छोरालाई 'यो छोरा हो यसले काम सिक्नु पर्दैन' भन्ने वातावरण छ। जुन प्रयास गलत हो। सानैदेखि छोराछोरी नभनी हरेक किसिमका काम सिकाउनु पर्छ। उसले सिकेको काम उसैका लागि हो भन्ने विश्वास दिलाउनु पर्छ। फूर्सदमा घरका अन्य सदस्यलाई सघाउने संस्कार दिनु पर्छ।
बच्चाले सुनेरभन्दा देखेर धेरै कुरा सिक्ने हुनाले उनीहरूलाई सैद्धान्तिक कुरा सिकाएर बस्नु भन्दा व्यवहारमा उतारेर देखाउनु पर्दछ।
अभिभाबक आफुले आफ्नो नराम्रो बानी हटाउ
यो राम्रो, त्यो नराम्रो। तिमीले नराम्रो हैन राम्रो बानी चाहिं सिक्नु पर्छ भनेर बारम्बार घोकाउनुले बालबालिकामा सकारात्मक प्रभाव पार्दैन। तपाईं राम्रो काम उसले देख्ने गरी गर्नुस् उसले त्यसबाट केही न केही राम्रो गुण अवश्य टिप्छ।
उदाहरणको लागी – बुबा सधैँ छोराको अगाडि बसेर चुरोट खाने अनि बाबु चुरोट खान हुँदैन है भन्दै सम्झाउँछ भने पक्कै पनि छोराले केही समय पछि लुकेर चुरोट खान थाल्छ। किनकि उसले बुवाले त्यसो गरेको देखेको छ। त्यो क हो? चुरोट तान्दा केह हुन्छ? भन्ने बारे उ जिज्ञासु बन्छ।
तर, तपाईं चुरोट खानु हुन्न र चुरोट तान्नु गलत हो भनेर सिकाउनु हुन्छ भने उसले सोच्नेछ – गलत हो र त बुवाले तान्नु हुन्न भन्ने कुरा स्वीकार्छ।
आफ्नो बच्चा राम्रो हुन् भन्ने अपेक्षा पूरा हुन तपाईं पनि राम्रै हुन आवश्यक छ।
अभाव महसुस गराउन सक्नुपर्छ
आफूले जती नै दुःख पाए पनि बच्चालाई केहीको कमी हुन नदिने अभिभावकको इच्छा हुन्छ। त्यसैले सन्तानले केही माग्न नपाउँदै त्यसको पूर्ती हुन्छ। पैसा होस् नहोस् बस् सन्तान खुशी हुनुपर्यो। त्यसको प्रतिफल - केही समयपछि आफैँ पछुताउनु बाहेक केही हुने छैन। आवश्यकता हेरी यदि बच्चाले अनावश्यक कुराहरूको माग गरिरहेको छ भने यो महिना यसैले चलाउ। अर्को महिना किनीदिन्छु भन्ने वा उसलाई चित्त बुझ्दो कारण खुलाएर आवश्यकताभन्दा बढी खर्च गर्न हुँदैन बरु बचत गर्ने बानी बसाल्नु पर्छ भन्ने भावको विकास गराउन सक्नुपर्छ।
बच्चाको हरेक कुरामा उत्साहित हुँदै उनीहरूलाई मोटिभेट गर्ने
आफूले गरेका हरेक स-साना कुराहरूलाई पनि ठूलो ठान्छन् बालबालिका। नयाँ कुरा सिक्न र गर्न उत्साहित हुन्छन्। आफ्नो सिकाइ देखाउन र प्रतिक्रिया लिन पनि उत्सुक हुन्छन्। त्यसैले आफ्ना अभिभावक वा नजिकका मानिसलाई देखाउँछन्। त्यो अवस्थामा तपाईंले आफ्नो अनुहारमा खुसीको भाव झल्काउनुपर्ने हुन्छ। उसको उत्साहको बेवास्था गर्नुभयो भने उसमा उत्पन्न खुसी बाँकी रहँदैन। साथै उसमा विकास हुँदै गरेको प्रतिभामा नकारात्मक असर पर्न सक्छ।
त्यसैले आफ्नो बाबुनानीको लागि तपाईं सदैव सकारात्मक प्रतिक्रियाको तयारीमा बस्नुपर्ने हुन्छ। मैले कतिपय परिवारमा बच्चा सानै छ यसले जान्दैन भनेर उसले गरेका हरेक कुरामा खोट देखाउने प्रवृत्ती देखेको छु। यदि त्यसो गर्नुभयो भने उसले पनि भोलि हरेक कुराको नकारात्मक पाटो मात्र हेर्न सिक्दछ।
सन्तानको अगाडि घर झगडा नगरौं
अभिभावको आन्तरिक झगडा सकेसम्म बच्चालाई नदेखाउनुहोस्। तपाईंहरूले एकअर्कालाई दोषारोपण गरिरहँदा बच्चामा मानसिक असर पर्छ। अझ एकले अर्काको दोष देखाएर बच्चालाई आफ्नो पक्षमा बनाउँछु वा बच्चाको अगाडि आफु सही सावित हुन खोज्नुहुन्छ भने त्यो झनै नराम्रो गर्दै हुनुहुन्छ। सक्नुहुन्छ भने सधैँ बच्चाको अगाडि एकअर्कालाई माया सम्मान गर्ने गर्नुहोस्। जसले गर्दा बच्चालाई आफ्नो अभिभावकप्रति सम्मान बढ्नुका साथै मायाको अर्थ पनि बुज्दै जान्छ।
सन्तानको अगाडि अनावश्यक ठट्टा नगर्नुहोस्
हाम्रो समाजमा यदि अरूलाई व्यङ्ग्य वा कटाक्ष गर्नुपर्यो भने प्रयोग गरिने वाक्यलाई ठट्टा भनिन्छ। यदि सन्तानको अगाडि सधैँ मजाक ठट्टा गर्नुहुन्छ भने उसले तपाईंले गरेको ठट्टाको शब्द त टिप्छ नै तर त्यसको अर्थ बुझेको हुँदैन। कसलाई, कतिखेर, कहाँ र किन ठट्टा गर्ने नबुझ्नाले उसले जहाँ जतिखेर जसलाई पनि प्रहार गरिरहेको हुनसक्छ. यदि त्यस्तो भयो भने त्यसको बाछिटाले तपाईं आफैलाई हान्नेछ। त्यसैले बच्चाहरूको अगाडि सभ्य बोलीवचनको विकास गर्नु निकै आवश्यक छ।
भनिन्छ, बालबालिका कुमालेले पाएको काँचो माटोजस्तै हो। त्यसलाई तपाईं जस्तो आकार दिनुहुन्छ त्यस्तै बन्छ। आफ्नो हातको काँचो माटोलाई कस्तो आकार दिने? त्यो तपाईंकै हातमा छ।
Comments
Post a Comment